कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि.को
सदस्य सुरक्षा कोष परिचालन नीति–२०७१
कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सुरक्षा कोष परिचालन नीति बनाउन आवश्यक भएकाले संस्थाको संचालक समितिबाट यो सदस्य सुरक्षा कोष परिचालन नीति–२०७१ तयार गरी संस्थाको मिति २०७१ असोज ३१ गते सम्पन्न पाँचौ साधारण सभाबाट पारित गरी लागू गरिएको छ ।
परिच्छेद–१
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ :–
(क) यस नीतिको नाम कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सुरक्षा कोष परिचालन नीति–२०७१ रहेको छ ।
(ख) यो नीति संस्थाको चुक्ता शेयर पूँजीको कम्तिमा ०.०५ प्रतिशत शेयर भएका र नियमित बचत गर्ने शेयरधनी सदस्यहरु उपर लागू हुनेछ । संस्थाको चुक्ता शेयर पूँजीको कम्तिमा ०.०५ प्रतिशत शेयर नभएका र नियमित बचत नगर्ने शेयरधनी सदस्यहरुको हकमा यो नीति लागू हुनेछैन ।
(ग) यो नीति संस्थाको साधारण सभाले पारित गरेको मितिदेखि लागू हुनेछ ।
२. परिभाषा :
(क) “ नीति ” भन्नाले कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकोे सदस्य सुरक्षा कोष परिचालन नीति–२०७१ लाई सम्झनु पर्दछ ।
(ख) “सदस्य” भन्नाले कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नियमित बचत गर्ने संस्थाका शेयरधनी सदस्यलाई जनाउँदछ ।
(ग) “सदस्य सुरक्षा कोष” भन्नाले संस्थाका सदस्यहरुको हितका लागि सदस्यहरुद्धारा नै छुट्याइएको सामाजिक कोषलाई संझनु पर्दछ ।
(घ) “समिति” भन्नाले संस्थाको सञ्चालक समिति सम्झनु पर्दछ ।
(ङ) “संस्था” भन्नाले कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड संझनु पर्दछ ।
(च) “ऐन” भन्नाले सहकारी ऐन, २०४८ सम्झनु पर्दछ ।
(छ) “नियमावली” भन्नाले सहकारी नियमावली, २०४९ सम्झनु पर्दछ ।
(ज) ‘‘आर्थिक वर्ष’’ भन्नाले साउन १ गतेदेखि आषाढ मसान्तसम्मको अवधिलाई जनाउँदछ ।
पच्छिेद–२
सदस्य सुरक्षा कोष
३. सदस्य सुरक्षा कोष सम्बन्धी व्यवस्था :–
(क) संस्थाका प्रत्येक सदस्यले संस्थाबाट कर्जा लिदा, बचतको व्याज लिदा तथा अन्य भुक्तानीहरु लिदा एक प्रतिशत रकम सदस्य सुरक्षा कोषमा जम्मा गर्नु पर्दछ ।
(ख) सदस्य सुरक्षा कोषमा रकम जम्मा गरिएको रसिद प्रत्येक सदस्यले अनिवार्य रुपमा लिनु पर्दछ ।
(ग) सदस्य सुरक्षा कोषमा जम्मा भई सकेको रकम कुनै पनि सदस्यले फिर्ता लिन वा व्यक्तिगत हक दाबी गर्न पाइने छैन, तर उक्त रकम संचालक समितिको निर्णयबाट संस्थाका सदस्यहरुकै हितमा खर्च गरिने छ ।
(घ) सदस्य सुरक्षा कोषको रकम कुनै पनि राजनीतिक दल वा धर्म वा सम्प्रदायका लागि कार्य गर्ने संघ संस्था वा गैह्र सदस्य संस्था वा व्यक्तिका लागि खर्च गरिने छैन ।
(ङ) संस्थाको रकम हिना मिना गरेका, संस्थाको कर्जा नतिरेका, संस्थाको प्रतिष्ठा गिराउने प्रयास गरेका, संस्थाबाट अनुचित लाभ लिएका, संस्थामा नियमित बचत नगरेका तथा संस्थाको चुक्ता शेयर पूँजीको कम्तिमा ०.०५ प्रतिशत शेयर नभएका सदस्यहरुले सदस्य सुरक्षा कोषबाट कुनै पनि प्रकारको आर्थिक सहयोग प्राप्त गर्न सक्ने छैनन् ।
(च) सदस्य सुरक्षा कोषमा जम्मा भएको रकम समाप्त भएमा वा रकम जम्मा नभएको अवस्थामा सदस्य सुरक्षा कोष परिचालन नीति–२०७१ मा जेसुकै लेखिएको भएता पनि कुनैपनि प्रकारका सुविधाहरुको दाबी सदस्यहरुले संस्थासँग गर्न पाउँने छैनन् ।
(छ) संस्थामा आवधिक बचत गरेका तर नियमित बचत निरन्तर नगरेका सदस्यहरुलाई सदस्य सुरक्षा कोषको सुविधा प्राप्त हुनेछैन ।
(ज) कुन शीर्षकमा के कती रकम सुविधा दिने भन्ने कुराको निर्णय संचालक समितिको निर्णयबाट गरिनेछ ।
(झ) सदस्य सुरक्षा कोषको भुक्तानी संचालक समितिको निर्णयबाट मात्र गर्न सकिने छ ।
(ञ) सदस्य सुरक्षा विभागको स्थापना गरी विभागका कर्मचारीहरु मार्फत सदस्य सुरक्षाको व्यवस्थापन गर्ने व्यवस्था संस्थाको संचालक समितिले मिलाउनेछ ।
(ट) प्रत्येक आर्थिक वर्षको अन्त्येमा वर्षभरि उठेको सदस्य सुरक्षा कोषको सम्पूर्ण विवरण संचालक समितिमा पेश गर्नु पर्नेछ ।
(ठ) सदस्य सुरक्षा कोषको रकम हिनामिना भएको वा वितरण गर्ने क्रममा यस सदस्य सुरक्षा कोष परिचालन नीति–२०७१ को विरुद्ध हुन गई संस्थाका कुनै पनि सदस्य उपर पक्षपात भएको छ भन्ने कसैलाई लागेमा संस्थाको संचालक समिति समक्षे लिखित निवेदन दिनु पर्नेछ । यसरी लिखित निवेदन परेको सात दिनभित्र तीन सदस्यीय छानविन समिति गठन गरी सत्यतथ्य पत्ता लगाई समितिले आवस्यक कार्बाही गरी सो को जानकारी लगतै हुने संस्थाको साधारण सभालाई अनिवार्य रुपमा गराउँने दायित्व संस्थाको संचालक समितिको हुनेछ ।
परिच्छेद–३
सदस्य सुरक्षा कोषको रकम र सम्मान प्राप्त गर्ने आधारहरु
४. सदस्य सुरक्षा कोषको रकम र सम्मान देहायका आधारहरुमा सदस्यहरुले प्राप्त गर्न सक्नेछन् :–
संस्थामा जम्मा भएको सदस्य सुरक्षा कोषको रकम कुनै पनि प्रकारको विभेद तथा पक्षपात नगरी निम्न आधारहरुमा संस्थाको संचालक समितिको निर्णयबाट वितरण गर्नु पर्नेछ ।
(क) स्वरोजगारीका निम्ति सदस्यहरुलाई सीप विकास तालिम
यस संस्थामा सीप विकास खर्च नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका यस संस्थाका वेरोजगार सदस्य वा तिनका संगोलका छोरा वा छोरीहरुमध्ये एकजनालाई व्यवसायिक पशुपालन, खेती, बजार व्यवस्थापन, कृषि भण्डार, आवास व्यवस्थापन, नेतृत्व विकास, साना उद्योग, खुद्रा व्यापार, व्यवसायिक खेलकुद, सिकर्मी, डकर्मी, ढुङ्गाकर्मी, सिलाई बुनाई एवं विभिन्न प्रकारका प्राविधिक सीप सम्बन्धीे तालिमहरु एक्लै वा समुहमा एकजना सदस्यलाई कुनै एक विषयको तालिम आधिकारिक विज्ञ वा निकायबाट प्रदान गर्ने आवस्यक व्यवस्था संस्थाले मिलाउँन सक्नेछ ।
(ख) डेरामा बस्ने सदस्यहरुको समूहलाई घर निर्माण गर्न अन्य सहयोग
यस संस्थामा आवास बचतमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका नगर क्षेत्रमा कम्तिमा पाँच वर्ष डेरा गरेर बस्ने र कम्तिमा ०–२–२–० जग्गा आफ्नै नाममा भएका सदस्यहरुले आफ्नै अगुवाईमा सामुहिक रुपमा न्युन लागतका घरहरु निर्माण गर्न चाहेमा संस्थाले प्राविधिक सल्लाह, कम लागतका घरहरुको नक्सा, नेतृत्व विकास सम्बन्धी तालिम, सार्वजनिक इनार, बाटो, विजुलीको पोल, उपभोक्ता समितिको कार्यालय भवन, पार्क, प्रतिक्षालय, राष्ट्रिय विभुतिहरुको प्रतिमा, युवा, महिला, बालबालिका, जेष्ठ नागरिक तथा कृषि लगायत विभिन्न पेशा व्यवसायका टोल समिति वा क्लवहरुको गठन गर्न आवस्यक सहयोग गर्नसक्ने छ ।
(ग) दाम्पत्य जीवन भत्ता
यस संस्थामा भावी जीवन बचतमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका यस संस्थाका महिला वा पुरुष सदस्यहरुको विवाहमा संचालक समितिले तोके बमोजिम एक पटक निश्चित रकम दाम्पत्य जीवन भत्ता प्रदान गर्नसक्ने छ ।
(घ) सन्तान प्राप्ति सुख भत्ता
यस संस्थामा भावी जीवन बचतमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका यस संस्थाका महिला वा पुरुष सदस्यहरुको छोरा वा छोरीको जन्म भएपछि संस्थाले दुई जनासम्म सन्तानका लागि संचालक समितिको निर्णयबाट निश्चित रकम सन्तान प्राप्ति सुख भत्ता प्रदान गर्नसक्ने छ ।
(ङ) विबाहको सुखद् वर्ष गाँठ भत्ता
यस संस्थामा भावी जीवन बचतमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका यस संस्थाका सदस्यहरुको विवाहको २५ औँ, ५० औँ र ७५ औँ वर्ष गाठ मनाउँन संचालक समितिले निश्चित रकम विवाहको सुखद् वर्ष गाठ भत्ता प्रदान गर्नसक्ने छ ।
(च) सदस्य वा तिनका संगोलका छोरा वा छोरीलाई छात्र वृत्ति
यस संस्थामा नियमित शैक्षिक बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका यस संस्थाका सदस्यहरुको आर्थिक स्थिति कमजोर हुन गई तिनका छोरा वा छोरीले बिचैमा पढाई छाड्नु पर्ने स्थिति आएमा तिनका संगोलका छोरा वा छोरीमध्ये एकजनालाई संस्थाको संचालक समितिको निर्णयबाट यस संस्थाले शैक्षिक सामग्री, युनिफर्म, पाठ्यपुस्तक एवं आधा वा पुरै मासिक शुल्क प्रदान गर्नसक्ने छ ।
(छ) सरसफाई सामग्री वितरण
यस संस्थाका सदस्यहरुको अगुवाइमा संचालन गरिने सरसफाई कार्यक्रमहरुमा संस्थाले सरसफाई सामग्रीहरु जस्तै बाल्टिन, टुथ ब्रस, कोलगेट, तौलिया, नेलकटर, सावुन, सेफ्टी प्याड आदि वितरण गर्न सक्नेछ ।
(ज) शिविर सञ्चालनमा सहयोग
यस संस्थाका सदस्यहरुको अगुवाइमा संचालन गरिने योग, ध्यान, प्रवचन, रक्तदान, टोल सरसफाई अभियान, चेतना मूलक सामाजिक अभियान, खेलकुद कार्यक्रमको आयोजना एवं विभिन्न रोगहरुको उपचारका लागि घुम्ती स्वास्थ्य शिविरहरु संचालक गर्न संस्थाले सहयोग गर्न सक्नेछ ।
(झ) विपद्मा परेका सदस्यहरुलाई राहत वितरण
यस संस्थामा जुनसुकै शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका यस संस्थाका सदस्यहरु आगलागी, भुकम्प, ज्वालामुखी, बाढी पैह्रो, दुर्घट्नामा परेमा संचालक समितिको निर्णयबाट निश्चित रकम राहत स्वरुप प्रदान गर्नसक्ने छ ।
(ञ) अनाथ सदस्य पालनपोषण भत्ता
यस संस्थामा खाद्य सामाग्री बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका संस्थाको सदस्य र निजको पति वा पत्नी दुवैको अचानक मृत्यु भएमा वा एकजनाको मृत्यु र एकजना पागल वा विकलाङ्ग भएमा निजका १६ वर्ष उमेर नपुगेका संगोलका छोरा वा छोरीमध्ये एकजनाको पालनपोषणका लागि संस्थाले ती नावालकको उमेर १६ वर्ष नपुगेसम्म निश्चित रकम मासिक अनाथ सदस्य पालन पोषण भत्ता प्रदान गर्नसक्ने छ ।
(ट) अःसहाय परिवार पालनपोषण भत्ता
यस संस्थामा खाद्य सामाग्री बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका र ६५ वर्ष उमेर पुगेका यस संस्थाका सदस्य वा सदस्यका बाबुआमाले आफ्ना सन्तान (छोरा वा छोरी) र सम्पत्ति गुमाएर कंगाल भएमा त्यस्ता अःसहाय सदस्य वा सदस्यका बाबु वा आमालाई संस्थाले मासिक रुपमा निश्चित रकम अःसहाय परिवार पालनपोषण भत्ता प्रदान गर्नसक्ने छ ।
(ठ) विकलाङ्ग सन्तान पालनपोषण भत्ता
यस संस्थामा खाद्य सामाग्री बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका यस संस्थाका सदस्यको छोरा वा छोरी विकलाङ्ग (हात गोडा नचल्ने, लाटो, बैरो, अन्धो, सुस्तमनस्थिति, असाधारण मोटो, असाधारण होचो वा पुड्को) जन्मिएमा त्यस्ता सन्तानहरुमध्ये एकजना सन्तानलाई संस्थाले मासिक रुपमा निश्चित रकम विकलाङ्ग सन्तान पालनपोषण भत्ता प्रदान गर्नेछ ।
(ड) जेष्ठ सदस्य भत्ता
यस संस्थामा जुनसुकै शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका ६५ वर्ष र ७५ वर्ष उमेर पुगेका सम्पूर्ण जेष्ठ सदस्यहरुलाई मासिक रुपमा निश्चित रकम संस्थाले जेष्ठ सदस्य भत्ता प्रदान गर्नसक्ने छ ।
(ढ) दीर्घ जीवन कामना भत्ता
यस संस्थामा जुनसुकै शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका ८० वर्षभन्दा माथि उमेरका संस्थाका सदस्यहरुलाई उहाँको आफ्नो धर्म संस्कृति, परम्परा अनुसार गरिने चौरासी, जङ्खु जस्ता कार्य सम्पन्न गर्न एक पटक निश्चित रकम संस्थाले दीर्घ जीवन कामना भत्ता प्रदान गर्नसक्ने छ ।
(ण) अपाङ्ग तथा अशक्त सदस्य भत्ता
यस संस्थामा जुनसुकै शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका यस संस्थाका सदस्यहरु उमेर बाँकी छदै विभिन्न कारणले अशक्त भएमा वा संस्थाको अन्धा, अपाङ्ग, बहिरा, सुस्त मनस्थितिका सदस्यहरुलाई यस संस्थाले मासिक रुपमा निश्चित रकम अपाङ्ग तथा अशक्त सदस्य भत्ता प्रदान गर्नसक्ने छ ।
(त) एकल महिला सदस्य भत्ता
यस संस्थामा जुनसुकै शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका संस्थाका महिला सदस्यको पतिको मृत्यु भएमा यस संस्थाले मासिक निश्चित रकम एकल महिला सदस्य भत्ता प्रदान गर्नसक्ने छ ।
(थ) वेरोजगारी सदस्य भत्ता
यस संस्थामा स्वरोजगारी शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका २० देखि ४० वर्ष उमेरका युवाहरु आय आर्जनका बाटामा लाग्न नसकी वेरोजगार बन्न पुगेभने वेरोजगार हुँदासम्म प्रत्येक महिना संस्थाले निश्चित रकम वेरोजगारी भत्ता प्रदान गर्नसक्ने छ ।
(द) घर खर्च भत्ता
यस संस्थामा घर खर्च शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका ४० वर्षभन्दा माथि उमेरका सदस्यहरुलाई संस्थाको संचालक समितिको निर्णयबाट प्रत्येक महिना संस्थाले निश्चित रकम घरखर्च भत्ता प्रदान गर्नसक्ने छ ।
(ध) पर्व भत्ता तथा पर्व समारोहलाई सहयोग
यस संस्थामा पर्व खर्च शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेको एकवर्ष पछि सदस्यहरुलाई संस्थाले प्रत्येक वर्ष आ–आफ्नो धर्म संस्कृति अनुसारका चाड पर्वहरु मान्न निश्चित रकम प्रदान गर्न सक्ने छ । साथै संस्थाका सदस्यहरुको अगुवाईमा सम्पन्न गरिने नयाँ वर्ष, पिता दिवश, माता दिवश, मित्रता दिवश, राष्ट्रिय एकता दिवश, जस्ता कार्यक्रमहरुलाई संस्थाले सहयोग गर्न सक्ने छ ।
(न) सदस्यहरुको सम्पत्ति बिमा
यस संस्थामा आवास खर्च शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका सदस्यहरुको एउटा पक्की घर वा कुनै एउटा व्यवसायको निश्चित रकमको विमा संस्थाले गर्न सक्ने छ ।
(प) सदस्यहरुको स्वास्थ्य बिमा
यस संस्थामा आवास खर्च शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका १ देखि ६४ वर्ष उमेरका सम्पूर्ण सदस्यहरुको यस संस्थाले निश्चित रकमको दुर्घटना र स्वास्थ्य उपचार विमा गरिदिन सक्ने छ ।
(फ) व्यवसायिक कृषि बिमा
यस संस्थामा विमा खर्च शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका व्यवसायिक कृषक सदस्यहरुलाई यस संस्थाले बाली वा पशुधन बिमा गरिदिन सक्ने छ ।
(ब) कृषि यन्त्र विमा
यस संस्थामा विमा खर्च शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका सदस्यहरुका निम्ति यस संस्थाले निश्चित रकमको कृषि यन्त्र बिमा गरिदिन सक्ने छ ।
(भ) व्यवसायिक कृषि कर्म सम्मान
उत्कृष्ट कृषि व्यवसाय गर्ने यस संस्थाका प्रथम, द्धितीय र तृतीय व्यवसायिक कृषक सदस्यहरुलाई संस्थाले व्यवसायिक कृषि कर्म सम्मान प्रदान गर्न सक्ने छ ।
(म) शैक्षिक सम्मान
एस. एल. सी., कक्षा १२, स्नातक, स्नातकोत्तर तहमा देश वा विदेशका जुनसुकै विश्वविद्यालयहरुबाट प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने यस संस्थाका सदस्यहरु वा कर्मचारीका संगोलका छोरा वा छोरीलाई यस संस्थाले शैक्षिक सम्मान प्रदान गर्न सक्ने छ ।
(य) विशिष्ट–सम्मान
संस्थाका सदस्य वा कर्मचारीका छोरा वा छोरीले कुनै पनि विषयमा देश वा विदेशका विश्वविद्यालयहरुबाट विद्यावारिधिको उपाधि हासिल गरेमा यस संस्थाले विशिष्ट–सम्मान प्रदान गर्न सक्ने छ ।
(र) अवलोकन भ्रमण
यस संस्थामा भ्रमण खर्च शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका सदस्यहरुलाई यस संस्थाले वर्षमा कम्तिमा एक पटक देश वा विदेशको अवलोकन भ्रमण गर्ने अवसर प्रदान गर्न सक्ने छ ।
(ल) बाल सदस्यलाई जन्म दिनको उपहार
यस संस्थामा जुनसुकै शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका सदस्यका संगोलका छोरा वा छोरीले आफ्नो जन्म दिन तथा विभिन्न चाड पर्व आदिमा मान्यजनबाट प्राप्त हुने रकम संस्थामा नियमित बचत गर्ने प्रतिवद्धता जनाई संस्थाबाट एकथान खुत्रुके जिम्मा लिएमा १६ वर्षभन्दा कम उमेरका छोरा वा छोरीमध्ये दुई जनासम्मको वार्षिक जन्म दिनमा यस संस्थाले बर्थ डे केक र विभिन्न प्रकारका उपहारहरु उपलब्ध गराउँन सक्ने छ ।
(व) अन्त्येष्टि खर्च
यस संस्थामा जुनसुकै शीर्षकमा नियमित बचत गर्ने सदस्यहरुको बचत रकम एकलाख पुगेका सदस्यको मृत्यु भएमा मृतक सदस्यको परिवारलाई संस्थाले एकमुष्ट निश्चित रकम अन्त्येष्टि खर्च प्रदान गर्नेछ ।
(श) विशिष्ट कर्मतारा सदस्य सम्मान
संस्था स्थापनाका बखत संस्थाको विधानमा दस्तखत गर्ने यस संस्थाका संस्थापक शेयरधनी सदस्यहरु, संस्थाको कूल शेयर पूँजीको कम्तिमा ०.०५ प्रतिशत लागानी गर्ने शेयर धनी सदस्यहरु, संस्थाले तोकेको न्युनतम दैनिक एक रुपयाँका दरले अटुट बचत गर्ने बचत कर्ता सदस्यहरु, संस्थासँग कर्जा लिदाका बखत गरेको शर्तनामा बमोजिम नियमित कर्जा चुक्ता गर्ने असल ऋणी सदस्यहरुलाई संस्थाको प्रत्येक साधारण सभाको अवसरमा संचालक समितिको निर्णय बमोजिम विशिष्ट कर्मतारा सदस्य सम्मान प्रदान गरिने छ ।
(ष) विशिष्ट कर्मतारा पूर्व संचालक सम्मान
संस्थाको संचालक समितिको बैठकमा नियमित उपस्थित भएको, संस्थाको उन्नति र प्रगतिको काममा सकरात्मक रुपले लागेको, आफ्नो कार्यकालमा संस्थालाई कुनै प्रकारको हानी नोक्सानी नपु–याएको, समितिले सुम्पेका जिम्मेबारीहरु पुरा गरेको, संस्थाको कुनैपनि प्रकारको रकम हिनामिना नगरी आफ्नो कार्यकाल सफलता पूर्वक पुरा गरेको यस संस्थाको संचालक समितिको पूर्व पदाधिकारीलाई संस्थाको प्रत्येक साधारण सभाको अवसरमा संचालक समितिको निर्णय बमोजिम विशिष्ट कर्मतारा पूर्व संचालक सम्मान प्रदान गर्न सकिने छ ।
(स) कर्मतारा विशिष्ट कर्मचारी सम्मान
कुनै प्रकारको नसिहत नपाएको, संस्थाको रकम हिनामिना नगरेको, संस्थाको उन्नति र प्रगतिप्रति चिन्तित, आफ्नो जिम्मेबारीको काम पुरा गरेका संस्थाका कर्मचारीहरुमध्ये सेवाको जेष्ठताका आधारमा संस्थाको प्रत्येक साधारण सभाको अवसरमा संचालक समितिको निर्णय बमोजिम एकजना कर्मचारीलाई कर्मतारा विशिष्ट कर्मचारी सम्मान प्रदान गर्न सकिने छ ।
(ह) कर्मतारा राष्ट्रिय व्यक्तित्व सम्मान
खेलकुद, वैज्ञानिक आविस्कार, चिकित्सा, भाषा, साहित्य, कला, राजनीति, प्रशासन, समाज सेवा, सामाजिक अभियान, चेलीबेटी तथा मानव बेचविखन विरुद्धको अभियान, वन्यजन्तु तस्करी विरुद्धको अभियानमा लागेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्ने यस संस्थाका सदस्य वा तिनका छोरा वा छोरीहरुलाई संस्थाको संचालक समितिको निर्णयबाट संस्थाको प्रत्येक साधारण सभाको अवसरमा कर्मतारा राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गर्न सकिने छ ।
(क्ष) पौरखी राष्ट्रिय व्यवसायी तथा सौर्य व्यक्तित्व सम्मान
विभिन्न पेशा व्यवसायमा लागेर इमान्दारी पूर्वक आय आर्जन गरी आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा सम्पन्न बन्ने यस संस्थाका अनुकरणीय सदस्य वा तिनका छोरा वा छोरीहरु र आगलागी, भुकम्प, ज्वालामुखी, बाढी पैह्रो, दुर्घट्ना, जंगली जनाबरको आक्रमण आदि विपद्का बेलामा आफ्नो ज्यानको प्रबाह नगरी अर्काको ज्यान बचाउने यस संस्थाका सदस्य वा तिनका छोरा वा छोरीहरुलाई संस्थाको संचालक समितिको निर्णयबाट संस्थाको प्रत्येक साधारण सभाको अवसरमा पौरखी राष्ट्रिय व्यवसायी सम्मान प्रदान गर्न सकिने छ ।
(त्र) संरक्षक सम्मान
पछि फिर्ता नमाग्नेगरी दैनिक कम्तिमा एक रुपयाँ सदस्य सुरक्षा कोषमा जम्मा गर्ने संस्थाका सदस्यहरुलाई यस संस्थाको संचालक समितिले संरक्षकको पदवी प्रदान गर्न सक्नेछ ।
(ज्ञ) सहकारी सन्देश कार्यक्रम संचालन
संस्थाले नेपालको कुनै एउटा ख्याति प्राप्त टेलिभिजन मार्फत साप्ताहिक रुपमा कर्मतारा सहकारी सन्देश कार्यक्रम संचालन गरी संस्थाको गतिविधिहरुलाई थप शसक्त र पारदर्शि बनाउँदै लैजान सक्नेछ ।
परिच्छेद–४
सदस्य सुरक्षा कोष भुक्तानी सम्बन्धी व्यवस्था
५. सदस्य सुरक्षा कोष भुक्तानी सम्बन्धी व्यवस्था:–
(क) स्वरोजगारीका निम्ति सीप विकास तालिम लिन सम्बन्धित सदस्यले आफूले सिक्न चाहेको विषय खोली संस्थामा निवेदन दिनु पर्दछ । प्राप्त निवेदनको आधारमा संस्थाका प्रतिनिधी र निवेदक आपसमा छलफल गर्दा संस्थाको प्रतिनिधीलाई उचित लागेमा सदस्यले सिक्न चाहेको सिप कहाँ, कसरी र कति लागतमा सिक्न सकिन्छ भन्ने कुराको एकिन गरी स्वीकृतिका लागि समितिमा पेश गर्नु पर्दछ । समितिबाट स्वीकृति भइसकेपछि तालिम बापतको रकम प्रशिक्षक वा तालिम दिने निकायलाई संस्थाले सोझै भुक्तानी गर्नेछ । तालिम प्राप्त गरीसकेपछि प्रमाण पत्रको प्रतिलिपी संस्थामा अनिवार्य रुपमा बुझाउनु पर्नेछ । तालिम प्राप्त सदस्यले आफूले सिकेको सिपको आधारमा पेशा व्यवसाय संचालन गर्न पूँजीको आवस्यकता परेमा संस्थाले नियमानुसार सहुलियत दरको ऋण प्रबाह गर्न सक्नेछ ।
(ख) संस्थाको संचालक समितिले सदस्यहरुको आफ्नै अगुवाईमा न्युन लागतका आवास शीर्षकको परियोजना लागू गरेको स्थान विशेषका लागि मात्र यो सुविधा प्राप्त हुनेछ । यो परियोजना लागू भएका स्थान विशेषका संस्थाका सदस्यहरुले लागत इष्टमेट, भवन निर्माण समिति वा उपभोक्ता समितिको बैठकको निर्णय, सिफारिस र निवेदन पेश गरेपछि संचालक समितिको निर्णयबाट आफ्ना सदस्यहरुलाई यो सुविधा प्रदान गरिने छ । परियोजना लागू नभएका ठाउँहरुमा यो सुविधा प्राप्त हुनेछैन । साथै सुविधाको सीमा परियोजनाको प्रकृति अनुसार संचालक समितिले तोके अनुसार हुनेछ ।
(ग) यस संस्थाका महिला वा पुरुष सदस्यहरुको शुभ विवाह शुसम्पन्न भएको ३५ दिन भित्र विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी सहित दाम्पत्य जीवन भत्ता प्राप्त गर्न नव बिबाहिता दम्पति दुबै संस्थामा उपस्थित भई आवेदन दिनु पर्दछ । बहु विवाह, बाल विवाह तथा कानुनले मान्यता नदिएको विवाह र विवाह दर्ता प्रमाण पत्र संलग्न नभएमा संस्थाले यो भत्ताको रकम भुक्तानी गर्ने छैन ।
(घ) यस संस्थाका महिला वा पुरुष सदस्यहरुको छोरा वा छोरीको जन्म भएको ३५ दिन भित्र सम्बन्धित बालक वा बालिकाको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी सहित सन्तान प्राप्ति सुख भत्ता भुक्तानीका लागि संस्थामा आवेदन दिनु पर्दछ । कानुनले अस्विकार गरेको, जन्म दर्ता प्रमाण पत्र नभएको तथा एक दम्पत्तिको दुइभन्दा बढी सन्तानका लागि यो सुविधा प्राप्त हुने छैन ।
(ङ) विबाहको सुखद् वर्ष गाँठ भत्ता लिन सदस्यहरुले आफ्नो विवाहको २५, ५० वा ७५ औँ वर्ष पुरा भएको प्रमाण सहित रकम भुक्तानीको लागि संस्थामा आवेदन दिनु पर्दछ ।
(च) छात्रवृत्ति प्राप्त गर्न छात्रवृति उपलब्ध गराउनु पर्ने कारण सहित आफ्नो आर्थिक स्थिति अत्यन्त कमजोर भएका सदस्यहरुले सम्बन्धित शिक्षण संस्थाको सिफारिस र गतकक्षाको लब्धाङ्क प्रमाण पत्रको प्रतिलिपी सहित संस्थामा निवेदन दिनु पर्नेछ । संचालक समितिको निर्णयबाट एकवर्षको लागि मात्र छात्रवृति प्रदान गरिने छ र पुनः अर्को वर्षका लागि छात्रवृति प्राप्त गर्न पुनः अर्को निवेदन दिनु पर्नेछ ।
(छ) सरसफाई सामग्री वितरण आर्थिक स्थिति कमजोर भएका संस्थाका सदस्यहरुका लागि संस्थाको संचालक समितिको निर्णयबाट संस्थाको अनुकूल अनुसार एउटा छुट्टै योजना बनाई गरिने छ ।
(ज) योग, ध्यान, रक्तदान, टोल सरसफाई अभियान एवं विभिन्न रोगसँग सम्बन्धित स्वास्थ्य शिविरहरु संस्थाको संचालक समितिको निर्णयबाट संस्थाको अनुकूल अनुसार एउटा छुट्टै योजना बनाई संचालन गरिने छ ।
(झ) आगलागी, भुकम्प, ज्वालामुखी, बाढी पैह्रो, दुर्घट्नामा परेको कुरा सम्बन्धित सदस्य वा निजका आफन्तले संस्थालाई छिटो खबर प्राप्त हुने संचारको माध्यमबाट जानकारी गराउनु पर्नेछ । समस्याको निराकरण भइसकेपछि वा ३५ दिनपछि प्राप्त भएको निवेदन उपर कार्यबाही हुनेछैन ।
(ञ) अनाथ सदस्य पालनपोषण भत्ता भुक्तानी लिन मृतक सदस्यहरुको मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित पत्र, सम्बन्धित गाउँ विकास समिति वा वडाको सिफारिस, नावालकको जन्म दर्ता प्रमाण पत्र, संरक्षकको नेपाली नागरिकताको प्रमाण पत्र र निवेदन अनिवार्य रुपमा संस्थामा पेश गर्नु पर्नेछ ।
(ट) अःसहाय सदस्य भत्ता भुक्तानी लिन सम्बन्धित गाउँ विकास समिति वा वडाको सिफारिस, भुक्तानी माग गर्ने असहाय सदस्यको नेपाली नागरिकताको प्रमाण पत्र र निवेदन अनिवार्य रुपमा संस्थामा पेश गर्नु पर्नेछ ।
(ठ) विकलाङ्ग सन्तान पालनपोषण भत्ता भुक्तानी लिन सम्बन्धित गाउँ विकास समिति वा वडाको सिफारिस, भुक्तानी माग गर्ने सदस्यको नेपाली नागरिकताको प्रमाण पत्र र निवेदन अनिवार्य रुपमा संस्थामा पेश गर्नु पर्नेछ ।
(ड) जेष्ठ सदस्य भत्ता भुक्तानी लिन भुक्तानी माग गर्ने जेष्ठ नागरिकको उमेर खुलेको नेपाली नागरिकताको प्रमाण पत्र र निवेदन अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
(ढ) ८० वर्ष उमेर पुगेका संस्थाका सदस्यहरुले दीर्घ जीवन कामना भत्ता पाउँ भनी आफ्नो नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी साथै राखी संस्थामा निवेदन दिनु पर्दछ । संस्थामा परेका आवेदनहरुमध्ये सबैभन्दा बढी उमेर पुगेका एकजना सदस्यलाई जीवनमा एकपटक मात्र यो सुविधा संस्थाको संचालक समितिले प्रदान गर्नेछ ।
(ण) अपाङ्ग तथा असक्त भत्ता भुक्तानी लिन भुक्तानी पाउनु पर्ने सदस्यको अपाङ्ग तथा असक्तताको प्रकृति खुलेको चिकित्सकको सिफारिस, सम्बन्धित सदस्यको निवेदन अनिवार्य रुपमा संस्थामा पेश गर्नु पर्नेछ ।
(त) एकल महिला सदस्य भत्ता भुक्तानी लिन महिला सदस्यको पतिको मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित पत्र, सम्बन्धित गाउँ विकास समिति वा वडाको सिफारिस, निवेदकको नेपाली नागरिकताको प्रमाण पत्र र निवेदन अनिवार्य रुपमा संस्थामा पेश गर्नु पर्नेछ ।
(थ) वेरोजगारी सदस्य भत्ता लिन संस्थाको वेरोजगार सदस्यले संस्थामा आवेदन दिनु पर्दछ । संस्थाको सदस्य वेरोजगार हो वा होइन भन्ने कुरा संस्थाले राम्रोसँग बुझेर रोजगार नभएसम्मका लागि मात्र संस्थाले यो भत्ता प्रदान गर्ने छ ।
(द) घर खर्च भत्ता संस्थाका सदस्यहरुले प्रत्येक महिना लिन सक्नेछन् ।
(ध) दशैँ खर्च संस्थाका सदस्यहरुले प्रत्येक दशैँमा लिन सक्नेछन् भने पर्व समारोहको आयोजना संस्थाको संचालक समितिको निर्णयबाट गरिने छ ।
(न) सम्पत्ति विमा, स्वास्थ्य विमा र कृषि विमा गराउन सम्बन्धित व्यक्ति वा व्यवसायीले संस्थामा निवेदन दिनु पर्नेछ । निवेदन प्राप्त भइसकेपछि संस्थाले आधिकारिक विमा कम्पनीमा विमा गराई विमाको प्रिमियम रकम सोझै विमा कम्पनीलाई भुक्तानी गरी निवेदकलाई संस्थाले विमा पोलिसी उपलब्ध गराउने छ । संस्थाको सदस्य विरामीभई हस्पिटल भर्ना हुनु परेमा सदस्यको बचत रकमको असी प्रतिशत रकम संस्थाले ऋण स्वरुप उपचार खर्च उपलब्ध गराउनेछ । विरामी सदस्यको उपचार भईसकेपछि विमा ल्केमका लागि बिलभर्पाई संस्थामा पेश गर्नु पर्ने छ । विमा कम्पनीबाट स्वास्थ्य विमाको रकम प्राप्त भईसकेपछि सोही रकमबाट सदस्यको कर्जा असुली गरिने छ । जुनसुकै विमाको दावी रकम लिन गर्नु पर्ने आवस्यक प्रक्रिया पुरा गर्ने जिम्मा सम्बन्धित सदस्यको हुनेछ । बेलैमा सूचना दिने लगायतका प्रक्रिया नपुगेका कारण विमा दाबी नलागेमा त्यस्को जिम्मा संस्थाले लिने छैन ।
(प) व्यवसायिक कृषि कर्म सम्मान प्राप्त गर्न आफूले संचालन गरीरहेको कृषि व्यवसायको बारेमा संस्थालाई जानकारी गराउनु पर्नेछ ।
(फ) एस. एल. सी. तथा विद्यावारिधिसम्मका सम्मान प्राप्त गर्न आफूले प्राप्त गरेको मार्कसिट वा उपाधिको प्रमाण पत्रको प्रतिलिपी संस्थालाई उपलब्ध गराउनु पर्नेछ ।
(ब) अवलोकन भ्रमणको तय संस्थाको संचालक समितिको निर्णयबाट गरिने छ ।
(भ) जन्म दिनको उपहार लिन सम्बन्धित बाल सदस्यको अभिभावकले प्रत्येक पटक कम्तिमा २ दिन अगाडि निवेदन दिनु पर्नेछ ।
(म) अन्त्येष्टि खर्च भुक्तानी लिन मृतक सदस्यको मृत्यु दर्ता प्रमाण पत्र, नाता प्रमाणित पत्र, भुक्तानी माग गर्ने व्यक्तिको नेपाली नागरिकताको प्रमाण पत्र र निवेदन पेश गर्नु पर्नेछ ।
(य) विभिन्न सम्मानहरु संस्थाको संचालक समितिको निर्णयबाट प्रदान गरिने छ ।
(र) सहकारी सन्देश कार्यक्रमको संचालन संस्थाको संचालक समितिको निर्णयबाट गरिने छ ।
परिच्छेद–५
विविध
६. व्याख्या गर्ने अधिकार:
यस नीतिमा उल्लेखित कुराहरू एक अर्कासित बाझिन गएमा सो को व्याख्या गर्ने अधिकार संचालक समितिमा निहित रहनेछ ।
७. नियम अनुसार भएको मानिने :
यो नीति लागू हुनु अघि भए गरिएका सम्पूर्ण निर्णयहरु यसै नीति अनुसार भए गरिएका मानिने छन् ।
८. संशोधन :
यस नीतिमा भएका बुँदाहरू थपघट गर्नु परेमा वा संशोधन गर्नु परेमा समितिको सिफारिसमा साधारण सभाबाट संशोधन वा थपघट गर्न सकिनेछ ।
समाप्त