कर्मताराको चाहाना आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक  समृद्धिको कामना

Saving And Credit Policy 2071

कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि.को
बचत तथा ऋण परिचालन नीति–२०७१


कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत तथा ऋण परिचालन नीति बनाउन आवश्यक भएकाले संस्थाको संचालक समितिबाट यो बचत तथा ऋण परिचालन नीति–२०७१ तयार गरी संस्थाको मिति २०७१ असोज ३१ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित गरी लागू गरिएको छ ।
परिच्छेद–१
प्रारम्भिक
१.     संक्षिप्त नाम र प्रारम्भ:
(क)     यस नीतिको नाम कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत तथा ऋण परिचालन नीति–२०७१ रहेको छ ।
(ख)    यो नीति संस्थाका सम्पूर्ण शेयर धनी र ऋणी सदस्यहरु उपर लागू हुनेछ ।
(ग)     यो नीति संस्थाको साधारण सभाले पारित गरेको मितिदेखि लागू हुनेछ ।
२.     परिभाषा:
(क)     “नीति” भन्नाले कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकोे बचत तथा ऋण परिचालन नीति–२०७१ लाई सम्झनु पर्दछ ।
(ख)    “बचत” भन्नाले संस्थाका सदस्यहरुले संस्थामा ब्यक्तिगत खाता खोली व्याज प्राप्त गर्ने उद्देश्यले संस्थामा जम्मा गरेको रकमलाई जनाउँदछ ।
(ग)       “कर्जा” भन्नाले संस्थासंग निश्चित मिति भित्र साँवा ब्याज सहित फिर्ता गर्ने गरी तमसुक गरि लिएको रकम संझनु पर्दछ ।
(घ)    “समिति” भन्नाले संस्थाको सञ्चालक समिति सम्झनु पर्दछ ।
(ङ)     ‘‘ऋण उप–समिति’’ भन्नाले संस्थाको विनियम बमोजिम गठन भएको ऋण उप–समितिलाई सम्झनु पर्दछ ।
(च)     “संस्था” भन्नाले कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड संझनु पर्दछ ।
(छ)     “ऐन” भन्नाले सहकारी ऐन, २०४८ सम्झनु पर्दछ ।
(ज)     “नियमावली” भन्नाले सहकारी नियमावली, २०४९ सम्झनु पर्दछ ।
(झ)    ‘‘आर्थिक वर्ष’’ भन्नाले साउन १ गतेदेखि आषाढ मसान्तसम्मको अवधिलाई जनाउँदछ ।
(ञ)     ‘‘ऋणी’’ भन्नाले ऋण लिएको सदस्यलाई सम्झनु पर्दछ ।
(ट)     ‘‘व्याज’’ भन्नाले संस्थाले सदस्यहरुसँग बचत लिँदा अन्य निकायहरुबाट ऋण सहयोग लिदा र सदस्यलाई ऋण लगानी गर्दा लैनदैन  भएको रकममा थप गर्न निर्धारित रकमलाई बुझाउँछ ।
(ठ)     ‘‘विलम्व शुल्क’’ भन्नाले संस्थामा ऋण बुझाउन गरेको कवोल अनुसार ऋण नबुझाएमा लाग्ने थप रकमलाई सम्झनु पर्दछ ।
(ड)    ‘‘छुट’’ भन्नाले संस्थाबाट ऋण लिई तोकिएको अनुसार कार्य गरेमा संस्थाबाट साँवा तथा व्याज बुझाउँदा व्याजको केही प्रतिशत व्याज तथा हर्जना मिन्हा गरिएको रकमलाई जनाउँदछ ।
(ढ)     ‘‘जमानी’’ भन्नाले संस्थाको कुनै सदस्यले ऋण लिँदा दिएको जमानत वा जमानीलाई बुझाउँदछ । 
(ण)    ‘‘धितो बन्धक’’ भन्नाले संस्थालाई कुनै सदस्यले संस्थाबाट ऋण लिनका लागि धितो दिएको आफ्नो चल–अचल सम्पत्तिलाई सम्झनु पर्दछ ।
(त)     ‘‘लिलाम’’ भन्नाले संस्थाबाट ऋण लिई नबुझाएमा संस्थाले त्यस्तो ऋणीको चल–अचल सम्पत्ति आफ्नो नाममा लिन गरिएको कार्यवाही सम्झनु पर्दछ ।
(थ)     ‘प्राथमिक पूँजी कोष’ भन्नाले संस्थाको शेयर पूँजी र जगेडा कोष रकमलाई जनाउँने छ ।

पच्छिेद–२
बचत सङ्कलन र फिर्ता
         
३.    बचत संकलन सम्बन्धी व्यवस्था:
(क)     यस संस्थामा बचत गर्ने व्यक्ति संस्थाको शेयर सदस्य हुनुपर्नेछ ।
(ख)     संस्थाले आफ्ना सदस्यहरुमा बचत गर्ने वानी बसाल्न र छरिएर रहेको पूँजीलाई संकलन गर्न नियमित र आवधिक गरी दुई प्रकारका बचत सेवाहरु प्रदान गर्नेछ ।
(ग)    सदस्यले आफूले खरिद गरेको शेयर रकमको १० गुणासम्म मात्र बचत रकम संकलन गर्नसक्ने छन् । यो नीति लागू हुनु पूर्व बचत र शेयरको अनुपात मिलेको रहेनछ भने बचत रकमबाट कट्टी गरी बचत र शेयरको अनुपात मिलाइने छ । 
(घ)     प्रत्येक वचतकर्ताले नियमित बचत दैनिक कम्तिमा एक रुपयाँ अनिवार्य गर्नु पर्नेछ । दैनिक कम्तिमा एक रुपयाँ वचत जम्मा नगरेमा वार्षिक १० प्रतिशत विलम्ब शुल्क जम्मा भएको बचत रकमबाट कट्टी गरिने छ । साथै निजको जम्मा भैसकेको सम्पूर्ण बचत रकममा सो अवधिको व्याज दिइने छैन । 
(ङ)      प्रत्येक बचतकर्ता सदस्यहरुलाई संस्थाले पासबुक र नियमित बचत संकलन गर्न एकथान खुत्रुके अनिवार्य रुपमा उपलब्ध गराउँनेछ ।
(च)     प्रत्येक सदस्यको व्यक्तिगत खातामा न्यूनतम रकम रु. ५००।– अनिवार्य रुपमा हुनुपर्नेछ ।
(छ)     नियमित बचत एउटा शीर्षकमा एकजना सदस्यले एकलाखभन्दा बढी गर्न पाउने छैनन् । यो नीति लागू हुनु पूर्व कुनै सदस्यको एउटा शीर्षकमा एकलाखभन्दा बढी नियमित बचत जम्मा भएको रहेछ भने बढी भएको रकम फिर्ता लिन वा नियमित बचतको अर्को शीर्षकमा सार्नु पर्नेछ ।
(ज)    आवधिक बचत प्राथमिक पूँजी कोषको बढीमा दश गुणासम्म मात्र संकलन गर्न सकिने छ । तर यो नीति लागू हुनुपूर्व जम्मा भईसकेको आवधिक बचत रकमको हकमा संस्थाले क्रमश अनुपात मिलाउँदै जानेछ । 
(झ)    संकलित निक्षेप रकम सदस्यहरुलाई ऋण प्रबाह गर्नु बाहेक अन्य काममा प्रयोग गर्न पाइने छैन ।
(ञ)    एकमुष्ट तीन वर्षभन्दा बढी अवधिको आवधिक बचत स्वीकार गर्न पाइने छैन ।
(ट)    संस्थाले कूल निक्षेप रकमको कम्तिमा पन्ध्र प्रतिशत रकम तरलता राख्नु पर्नेछ ।
(ठ)    बचतको व्याज दर समय समयमा संचालक समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
(ड)    बचतकर्ता शेयर धनी सदस्यले आफ्नो शेयर छाडेमा निजको बाँकी रकम फिर्ता गरी निजको खाता बन्द गरिने छ । यसरी खाता बन्द गर्दा रु ५००।– शुल्क बचतबाट कट्टी गरी बाँकी बचत रकम फिर्ता गरिनेछ ।
(ढ)    सदस्यले बचत जम्मा गरेपछि आफूसँग रहेको पासबुकमा पैसा बुझ्ने आधिकारीक व्यक्ति वा लेखापालको दस्तखत गराएर रसिद लिनुपर्दछ ।
(ण)    बचत रकम संस्थाको बैंक खातामा पनि जम्मा गर्न सकिने छ त्यसरी बैँक खातामा जम्मा गरिएको बैंक भौचर संस्थामा बुझाई पासबुक भराई लिनुपर्दछ ।
(त)    सदस्यहरुले नियमित बचत खातामा जम्मा गरेको महिनादेखि व्याज दिइने छ । पाकेको व्याज प्रत्येक आर्थिक वर्षको पौष मसान्त र आषाढ मसान्तका दिन सम्बन्धित सदस्यको खातामा र पासबुकमा जम्मा गरिने छ ।
(थ)    आवश्यकता अनुसार संचालक समितिले नियमित बचतका थप शीर्षकहरु लागू गर्न सक्नेछ । 

(४)     नियमित वचतका शीर्षकहरुः–
(क)    खाद्य सामाग्री बचत
संस्थाका सदस्यहरुको अगुवाईमा कृषि उत्पादन, प्रशोधन एवं वजार प्रवद्र्धन गरी रासायनिक मल, विषादी तथा मिसावट नभएको गुणस्तरीय अन्न, फलफूल, तरकारी, माछा, मासु, दूध आदि खाद्य सामाग्रीहरु परल मूल्यमा उपभोग गर्न आवस्यक पर्ने पुँजीको विकास गर्न खाद्य सामाग्री बचतको व्यवस्था गरिएको हो ।

(ख)    कृषि यन्त्र बचत
संस्थाका सदस्यहरुको अगुवाईमा कृषि यन्त्रहरुको व्यवस्था गर्न आवस्यक पर्ने पुँजीको निर्माण गर्न कृषि यन्त्र बचतको व्यवस्था गरिएको हो ।

(ग)    आवास बचत
नगर क्षेत्रमा डेरा गरेर बस्ने र कम्तिमा ०–२–२–० जग्गा आफ्नै नाममा भएका सदस्यहरुलाई संस्थाका सदस्यहरुको अगुवाईमा आवास निर्माण गर्न आवस्यक पर्ने पुँजीको व्यवस्था गर्न आवास बचतको व्यवस्था गरिएको हो ।

(घ)    शैक्षिक बचत
संस्थाका सदस्यहरुको अगुवाईमा सदस्यहरुकै स्वामित्वको विद्यालय, कलेज एवं विश्व विद्यालयहरु स्थापना गरी सहुलियत दरको गुणस्तरीय शिक्षाको प्रबन्ध मिलाउँन आवस्यक पर्ने पुँजीको निर्माण गर्न शैक्षिक बचतको व्यवस्था गरिएको हो ।

(ङ)    बाल बचत
आफ्ना सन्तानहरुको उच्च शिक्षा अध्ययन, व्यवसायका लागि पूँजीको व्यवस्था, सीप विकास एवं बिबाह, ब्रतबन्ध लगायतका शुभकार्यका लागि आवस्यक पर्ने पुँजीको जोहो गर्न बाल बचतको व्यवस्था गरिएको हो ।

(च)    युवा स्वरोजगारी बचत
संस्थाका सदस्यहरुको अगुवाईमा कृषि, पशुपालन, उद्योग र व्यापारका माध्यमबाट रोजगारी सिर्जना गरी विदेशकोभन्दा उत्तम प्रकारका रोजगारीका अवसरहरु आफ्नै मुलुकमा सिर्जना गर्न आवस्यक पर्ने पुँजीको व्यवस्था गर्न युवा स्वरोजगारी बचतको व्यवस्था गरिएको हो । 

(छ)    विमा बचत
आफू वा आफ्नो परिवारका सदश्यहरुको स्वास्थ्य उपचार, दुर्घटना, व्यवसायको बिमा, सम्पत्ति आदिको दीर्धकालीन विमाका लागि आवश्यक पर्ने पुँजीको व्यवस्था गर्न बिमा बचतको व्यवस्था गरिएको हो ।

(ज)    उपचार बचत
संस्थाका सदस्यहरुको अगुवाईमा सदस्यहरुकै स्वामित्वको हस्पिटल, नर्सिङहोम, ल्याब एवं औषधी पसलहरु स्थापना गरी सहुलियत दरको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवस्यक पर्ने पुँजीको निर्माण गर्न उपचार बचतको व्यवस्था गरिएको हो ।

(झ)    चाडपर्व  बचत
आ–आफ्नो धर्म, संस्कृति, परम्परा एवं रीति रिवाज अनुसार वर्षभरीमा सम्पन्न गरिने चाड पर्व, तिर्थ, ब्रत पूजापाठ आदिबाट प्राप्त हुने रकमलाई नियमित रुपमा बचत गरी दीर्घकालीन रुपमा चाड पर्वलाई व्यवस्थित गर्न आवस्यक पर्ने पुँजीको निर्माण गर्न चाडपर्व बचतको व्यवस्था गरिएको हो ।

(ञ)    भ्रमण बचत
संस्थाका सदस्यहरुको अगुवाईमा स्वदेश तथा विदेश अबलोकन भ्रमण गर्नका लागि आवश्यक पर्ने पुँजीको निर्माण गर्न भ्रमण बचतको व्यवस्था गरिएको हो ।

(ट)    भावी जीवन बचत
आफू वा आफ्ना मातापिता वा आफ्ना भावी सन्ततिहरुको बुढेसकाल व्यवस्थापनका लागि आवश्यक पर्ने पुँजीको निर्माण गर्न भावी जीवन बचतको व्यवस्था गरिएको हो ।

(ठ)    सीप विकास बचत
आफू वा आफ्ना सन्ततिहरुका लागि आवस्यक पर्ने सीप सिक्नका लागि पुँजीको निर्माण गर्न सीप विकास बचतको परिकल्पना गरिएको हो ।

५.    बचत फिर्ता सम्बन्धी व्यवस्थाः
(क)    नियमित बचत फिर्ता हुँदैन तर रकमको आवस्यकता परेमा कर्जा स्वरुप ८० प्रतिशतसम्म रकम लिन सकिन्छ । यसरी लिएको कर्जा भाका भित्र संस्थालाई फिर्ता बुझाउनु पर्दछ । तर संस्थामा रही रहन आवस्यक छैन भन्ने लागेमा संस्थाको सदस्यता समेत खारेज गरी आफ्नो पुरै नियमित बचत रकम फिर्ता लिन सकिन्छ ।
(ख)    आवधिक बचत रकम अवधि पुरा भएपछि पुरै झिक्न वा पुनः नबिकरण गर्न पाइन्छ, तर आवधिक बचत रकमको धितोमा कर्जा लिन पाइदैन । साथै अवधि पुरा नहुँदै आवधिक बचत रकम झिक्नु परेमा एकवर्षको व्याज बराबरको रकम कट्टी गरी बाँकी हुन आउने रकम मात्र फिर्ता गरिने छ । 
(ग)    आवधिक बचतको अवधि पुरा भइसकेपछि पनि बचत रकम झिक्न वा पुनः नबिकरण गर्न नआएमा भाका नाघेको अवधिको व्याज कुनै पनि सदस्यलाई प्राप्त हुनेछैन ।
(घ)    कुनै सदस्य अन्य सदस्यको ऋणको लागि जमानी बसेको वा आफैँले ऋण लिएको अवस्थामा जमानी बसेको वा आफैले ऋण लिए बराबरको बचत रकम कर्जा असुली नभएसम्म फिर्ता हुनेछैन ।
(ङ)    यदि कुनै सदस्यले आफ्नो बचत जमानी राखेर ऋण लिएको छ र ऋणको कुनै पनि किस्ता (साँवा र व्याज) बचतले खाम्ने मितिसम्म त्यस्तो किस्ता रकम चुक्ता नगरेमा निजको बचतबाट किस्ता वापतको रकम कट्टा गरी ऋण असुल गरिने छ ।
(च)     बचत रकम फिर्ता लिन सम्बन्धित बचत कर्ता सदस्य स्वयं आफूले लिएको पासवुक सहित उपस्थित हुनु पर्ने छ । मञ्जुरीनामा वा मौखिक अनुरोध वा बचतकर्ताको दस्तखत नभिडेमा वा पासवुक साथमा नभएमा बचत रकम फिर्ता हुन सक्नेछैन ।
               
परिच्छेद–३
कर्जा लगानी

६.    ऋण लिन चाहिने योग्यता :
(क)     निवेदक संस्थाको शेयरधनी सदस्य हुनुपर्छ ।
(ख)     निवेदकले लगातार तीन महिनादेखि संस्थामा नियमित बचत गरेको हुनु पर्दछ ।   
(ग)     निबेदकले अन्य वित्तीय संस्थाबाट ऋण लिएको हुनुहुँदैन ।
(घ)     संस्थामा यस पूर्व लिएको ऋण बाँकी हुनुहँुदैन ।
(ङ)     संस्थाको नीति नियमको पालना गरेको हुनुपर्दछ ।
(च)     निवेदकले गर्ने व्यवसायको उचित प्रतिफल लाभदायी हुनुपर्नेछ ।
(छ)     निवेदकले गर्ने व्यवसायको बारेमा निवेदकलाई उचित ज्ञान हुनुपर्नेछ ।
(ज)     आफूसँग भएको संस्थाको शेयरको दश गुणाभन्दा बढी ऋण लिन पाइने छैन । 
(झ)    नियमित बचतको ८० प्रतिशत वा ऋणीकै नामको घर जग्गा धितो भए मात्र ऋण लिन सकिनेछ । विना धितो र सामुहिक जमानीमा संस्थाले ऋण लगानी गर्ने छैन ।

७.    कर्जा माग गर्दा पेश गर्नुपर्ने कागजातहरु :
(क)    नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपी÷सक्कल ।
(ख)    धितो दिने जग्गाको लालपुर्जाको प्रतिलिपी÷सक्कल, लिखत, बकस पत्र आदि सक्कल ।
(ग)    धितो दिने घर जग्गाको नापी ट्रेश नक्सा सक्कल ।
(घ)    मालपोत कार्यालयले वित्तिय संस्थालाई दिने नक्सा सक्कल ।
(ङ)    चालु वर्षको तिरो तिरेको रसिद सक्कल ।
(च)    मासिक आय, आफ्नो बाहेक अन्य कसैको भएमा नाता प्रमाणित–पत्र ।
(छ)    संस्थामा भएको कारोबार तथा बचत खाताको विवरण, शेयर प्रमाण–पत्र, परिचय–पत्र ।
(ज)    जमानी दिने व्यक्तिको नागरिकता, शेयरको प्रमाण–पत्र र फोटो २ प्रति ।
(झ)    हायर पर्चेज कर्जाका लागि आधिकारिक फर्म वा कम्पनीको कोटेशन फारम ।
(ञ)    हायर पर्चेज कर्जाका लागि धरौटी जम्मा गरेको रसिद ।
(ट)    कर्जा लिए पश्चात् लगानी गर्ने परियोजना स्किम ।
(ठ)    कर्जा आवेदन फारम ।

८.    संस्थाबाट उपलब्ध गराइने कर्जाका प्रकार:
संस्थामा भएको तरलताको आधारमा सदस्यहरुलाई पहिलो आउनेलाई पहिलो प्राथमिकताका आधारमा यसै नीति अनुसार प्रदान हुने कर्जाहरुको प्रकार निम्न बमोजिमका हुनेछन् ।
(क)    सीप विकास कर्जा
व्यवसाय संचालन गर्न आवस्यक पर्ने सीप सिक्नका लागि रकमको आवस्यकता परेमा संस्थाले आफ्ना सदस्यहरुलाई बचतको ८० प्रतिशत वा धितोको आधारमा सीप विकास कर्जा प्रदान गर्नेछ ।
       
(ख)    डेरामा बस्ने सदस्यहरुलाई घर कर्जा
नगर क्षेत्रमा कम्तिमा पाँच वर्ष डेरा गरेर बसेका तथा कम्तिमा ०–२–२–० जग्गा आफ्नै नाममा भएका र सदस्यहरुको आफ्नै अगुवाईमा न्युन लागतका आवास कार्यक्रम लागू भएका ठाउँहरुमा संस्थाले आफ्ना सदस्यहरुलाई बचतको ८० प्रतिशत वा धितोको आधारमा घर कर्जा प्रदान गर्नेछ । 

(ग)    उत्पादन कर्जा
संस्थाका सदस्यहरुको अगुवाईमा संचालन गरिने कृषि उत्पादन सम्बन्धि कार्यहरुका लागि बचतको ८० प्रतिशत वा धितोको आधारमा उत्पादन कर्जा प्रदान गरिन्छ । 

(घ)     खरिद–बिक्री कर्जा
संस्थाका सदस्यहरुको अगुवाईमा संचालन गरिने खरिद बिक्री व्यवसायका लागि धितोको आधारमा खरिद विक्रीे कर्जा प्रदान गरिने छ ।

(ङ)     घरायसी कर्जा
सदस्यहरुको दैनिक घर व्यवहार संचालनका सिलसिलामा आइपर्नेकामका लागि बचतको ८० प्रतिशतसम्म घरायसी कर्जा प्रदान गरिन्छ । 

(च)    कृषि औजार तथा हायर पर्चेज कर्जा
सदस्यहरुका लागि आवस्यक पर्ने कृषी औजार तथा सवारी साधन खरिद गर्न धितोको आधारमा कर्जा प्रदान गरिने छ । त्यस्ता औजारहरुको अनिवार्य रुपमा जोखिम बीमा गराउँनु पर्नेछ ।

(छ)    सिंचाई कर्जा
संस्थाका सदस्यहरुको अगुवाईमा जमीनको सतहमा र सतह मुनी रहेको पानीको श्रोतलाई उपयोग गरी सिंचाई तथा खानेपानी उपयोग गर्न धितोको आधारमा कर्जा प्रदान गरिने छ । 

(ज)    पशुपंक्षी तथा माछा पालन कर्जा
आर्थिक लाभको हिसावले पालिने गाई, भैंसी, भेडा, बाख्रा, बाच्छा–बाच्छी, पाडा–पाडी, खरायो जस्ता पशुहरु कुखुरा, हाँस, परेवा जस्ता पंक्षिहरु, माछापालन साथै माहुरी, रेसम जस्ता किराहरु पालन गर्न धितोको आधारमा  कर्जा प्रदान गरिने छ ।

(झ)     कृषि तथा घरेलु उद्योग स्थापना कर्जा
संस्थाका सदस्यहरुको अगुवाईमा कृषि उपज प्रशोधन गर्र्न धितोको आधारमा कृषि तथा घरेलु उद्योग कर्जा प्रदान गरिने छ ।

(ञ)     ऊर्जा विकास कर्जा
संस्थाका सदस्यहरुको अगुवाईमा उर्जा बचत गर्ने र वन–जंगल जोगाउँनका लागि गोवर ग्याँस स्थापना गर्न, सौर्य विद्युतीकरण गर्न र गोबर ग्याँसमा चर्पी जडान गर्न धितोको आधारमा उर्जा विकास कर्जा प्रदान गरिनेछ ।

(ट)     भण्डारण कर्जा
व्यवस्थित बजारको अभावमा छिट्टै नास हुने कृषि उत्पादनहरुलाई केही समयसम्म भण्डार गरी अधिकतम     फाइदा दिलाउन धितोको आधारमा भण्डारण कर्जा प्रदान गरिने छ ।

(ठ)     पर्यटन कर्जा
पर्यटन विकाससँग सम्बन्धित स्थानीय होटल, लज, रेष्टुरेन्ट स्थापना तथा संचालन, साहसिक पर्यटन, ट्रेकिङ वा लामो पदयात्रा, हाइकिङ जस्ता व्यवसाय संचालन गर्न धितोको आधारमा पर्यटन विकास कर्जा प्रदान गरिने छ ।

(ड)     शैक्षिक कर्जा
सदस्य तथा सदस्यका परिवारलाई स्वदेश तथा विदेशमा प्राविधिक वा खास सीप आर्जन हुने विषयमा उच्च शिक्षा अध्ययन गर्न धितोको आधारमा शैक्षिक कर्जा प्रदान गरिने छ ।

(ढ)     हायर पर्चेज कर्जा
सदस्यहरुको आफ्नै अगुवाईमा न्युन लागतमा निर्माण हुने आवास क्षेत्रमा यात्रुहरु ओसार पसार गर्ने ठुला तथा साना बसहरु खरिद गर्न एवं विकास निर्माण सम्बन्धी कामका लागि ट्रक, टिप्पर, लोडर, डोजर, टेक्सी, एम्वुलेन्स टायरगाडा, शवबाहन आदि खरिद गर्न धितोको आधारमा हायर पर्चेज कर्जा प्रदान गरिने छ ।
           
(ण)     तरकारी, फलफुल तथा जडिबुटी उत्पादन कर्जा
यस अन्तरगत आँप, कटहर, सुन्तला, जुनार, स्याउ, एभोकार्डो, अनार, लिची, कागती, नासपाति जस्ता अपेक्षाकृत लामो अवधि लाग्ने फलफुल र केरा, भैंकटहर, मेवा, उखु, कफि, चिया जस्ता नगदेवाली उत्पादनको लागि धितोको आधारमा तरकारी, फलफुल तथा जडिबुटी उत्पादन कर्जा प्रदान गरिने छ ।

(त)     प्रशोधन तथा पुनः प्रशोधन उद्योगिक कर्जा
यस अन्तरगत छालाका सामग्रीहरु तयारी, बुटीक उद्योग, प्लाष्टिक पुनः प्रशोधन, कागज पुनः प्रशोधन, छापाखाना तथा मसलन्द उद्योग, जुस तयारी उद्योग, अचार, डेरी उद्योग, तयारी पोशाक उद्योग, धुप बत्ति, सावुन उद्योग जस्ता उद्योगहरु पर्दछन् । धितोको आधारमा यो कर्जा प्रदान गरिने छ ।

 (थ)    स्वास्थ्य उपचार कर्जा
स्वास्थ्य उपचार विमा गराएका संस्थाका सदस्यहरु विरामी भई हस्पिटल भर्ना हुनु परेमा विमाको रकम नआएसम्मका लागि बचतको ८० प्रतिशतसम्म रकम स्वास्थ्य उपचार कर्जा दिइने छ । 

(द)    अन्त्येष्टि खर्च सापटी
जुनसुकै शीर्षकमा कम्तिमा एकलाख रुपयाँ बचत जम्मा भइसकेको संस्थाको सदस्यको मृत्यु भएमा आवस्यक कागज पत्र पछि पेश गरी हिसाव राफसाफ गर्ने शर्तमा संस्थाका कुनै एकजना सदस्यको रोहबरमा अन्त्येष्टि खर्च सापटी दिइने छ । यसमा व्याज तथा कुनै प्रकारको शुल्क लाग्ने छैन ।

(ध)    माग्दा फिर्ता हुने कर्जा:
संस्थामा नगद मौज्दात अत्याधिक हुन गई संस्थाले अन्य परियोजना संचालन गरेर उपयोगमा ल्याउँन नसक्ने अवस्था सिर्जना भएमा कर्जा नलिएका सदस्यहरुलाई उनीहरुको बचतको ८० प्रतिशतसम्म रकम माग्दा फिर्ता हुने कर्जा अन्तर्गत संस्थाले लगानी गर्नेछ । त्यस्तो ऋणको व्याजदर उनीहरुले संस्थाबाट प्राप्त गरेको व्याजदरभन्दा एक प्रतिशतले मात्र बढी हुनेछ । ऋण लिने सदस्यले संस्थाले माग गरेमा ७ दिन भित्र त्यस्तो रकम फिर्ता गर्नु पर्नेछ ।     

९.    हर्जना, व्याजदर तथा दुरुपयोग भएको कर्जाको व्याजदर
(क)     संस्थाबाट वितरित कर्जा दुरुपयोग गरेको भन्ने ठहर भएमा तोकिएको व्याजदरमा ४ प्रतिशतका दरले थप     व्याज लाग्नेछ ।
(ख)     दुरुपयोग भएको कर्जालाई तत्काल असुल उपर गर्न कारवाही चलाई कर्जा दुरुपयोग गर्ने सदस्यलाई बढीमा १ वर्षसम्मका लागि संस्थाको सुविधा उपयोग गर्न संचालक समितिले निलम्बन गर्न सक्नेछ ।
(ग)     भाखा नघाउने सदस्यहरुलाई भाखा नाघेको अवधीभर बाँकी पूरै साँवा रकममा हर्जना व्याज लाग्नेछ ।

१०.     धितो तथा सुरक्षा व्यवस्था:
(क)     संस्थाका सदस्यहरुलाई कर्जा प्रदान गर्दा सदस्यहरुको घर जग्गा जस्ता अचल सम्पत्ति धितो लिएर मात्र कर्जा     प्रदान गरनेछ । 
(ख)     संस्थाका सदस्यहरुले पेश गरेको धितोको स्थलगत निरिक्षण गरि औषत मूल्यको ६० प्रतिशतले हुने रकमसम्म मात्र ऋण लगानी गरिने छ ।
(ग)     कुनै एक सदस्यको धनजमानी बसेको व्यक्ति जसको धनजमानी बसेको हो उसले पुरै ऋण नतिरेसम्म आफूले ऋण पाउँने छैन ।
(घ)     कुनै एक सदस्यको धनजमानी बसेको व्यक्तिले सोही रकमको आधारमा अर्को सदस्यको लागि धनजमानी बस्न पाउने छैन । यदि आंशिक रकम मात्र जमानीमा दिएको हो भने उसले को कसलाई के कति जमानी दिएको सो कुरा निजको खातामा र ऋणीको खाता तथा जमानी रोक्का खातामा समेत जनाएर राख्नु पर्नेछ । 
(ङ)     कर्मचारीको लापरवाही वा समितिका सदस्यको अज्ञानताका कारणले जमानी दोहोरो पर्ने गरी लगानी भैसकेको भएमा तत्कालै सुरक्षाको व्यवस्था मिलाउनु पर्नेछ । सो को लागि ऋणी सदस्यलाई जमानी थप गर्नका लागि कारवाही अघि बढाउनु पर्नेछ ।
(च)     जमानी रोक्का रजिष्टर अध्यक्ष वा व्यवस्थापकले आफूसँग सुरक्षित राख्नेछन् । 
(छ)     संस्थाले गरेको ऋण लगानीको तमसुक, तिरो तिरेका रसिद, लालपूर्जा बेग्लै सुरक्षित तरिकाले राख्नु पर्दछ ।      
(ज)    लगानी गरिएको ऋणको सुरक्षाका लागि गरिने बीमाको प्रिमियम तथा धितो रोक्का फुकुवा गर्दा लाग्ने सम्पूर्ण खर्च ऋणी सदस्यले व्यहोर्नु पर्नेछ । 
(झ)     कर्जा लगानी गर्दा महिला भएमा पतिको र पुरुष भएमा पत्नीको स्वीकृति आवश्यक पर्नेछ । एकल वा अविवाहित व्यक्ति भएमा निजका अभिभावकको स्वीकृति आवश्यक पर्नेछ ।
(ञ)    संस्थाको शेयर सदश्यता नलिएको व्यक्ति धनजमानी बस्न पाइनेछैन ।
(ट)     सगोलका अंशियारहरु बिच अंशवण्डा लाग्ने धितो दिएमा अंशियारहरुको मन्जुरीनामा हुनु पर्दछ ।
(ठ)     तेश्रो पक्षको धितो र नावालकको नाममा रहेको धितो संस्थालाई मान्य हुने छैन ।

११.    परियोजना/ऋण विश्लेषण र आधारहरू:
संस्थाबाट कर्जा प्रवाह गर्दा व्यापार व्यवसाय परियोजनाको सम्भाव्यतालाई बढी प्राथमिकता दिइने भएकोले संस्थाको ऋणबाट संचालन अथवा विस्तार गरिने परियोजना प्राविधिक दृष्टिकोणबाट लाभदायक अन्य विविध दृष्टिकोणबाट उपयुक्त छ÷छैन र त्यस्तो परियोजनाको लागि ऋण माग गर्न व्यक्ति वा संस्थाबाट परियोजना     संचालन हुन सक्छ वा सक्दैन भनी राम्रोसित छानविन गर्ने प्रकृयालाई परियोजना विश्लेषण भनिन्छ । यस प्रकारको विश्लेषणबाट उपयुक्त देखिएमा मात्र ऋण दिनको लागि सिफारिस गर्नु पर्दछ । परियोजना     विश्लेषण     गर्ने बु““दागत आधारहरू निम्न हुनेछन् ।

(क)    प्राविधिक दृष्टिकोण:
संस्थाबाट लगानी गरिने सबै प्रकारका परियोजनाहरू प्राविधिक दृष्टिकोणबाट सम्भव हुनु पर्दछ । उपयुक्त प्रविधि, जनशक्ती आदिका उपलब्धतालाई ध्यान दिई यो विश्लेषण गरिनेछ ।

(ख)    बजार व्यवस्था:
परियोजनाका लागि आवश्यक कच्चा पदार्थ र तयारी वस्तुहरूका लागि उपयुक्त बजार व्यवस्था आवश्यक हुने हुँदा विश्लेषण गर्दा यो पक्षलाई विशेष महत्व दिइनेछ ।

(ग)    आर्थिक दृष्टिकोणबाट फाइदाजनक:
उत्पादित वस्तु र सेवाहरूको आर्थिक महत्व रहनु पर्ने भएको हुँदा समयमा नै कर्जा चुक्ता गर्न सक्ने नसक्ने र अन्य आर्थिक विश्लेषण गरिनेछ ।

(घ)    व्यवस्थापन क्षेमता:
व्यवस्थापन पक्ष सबल नभई कुनै पनि उद्योग व्यवसाय सफल नहुने हुनाले व्यवस्थापन क्षेमताको विश्लेषण गरिनेछ ।

(ङ)    वित्तिय दृष्टिकोण:
साधारण आम्दानी खर्च र गत वर्षको नाफा नोक्सान वासलात विवरणको अध्ययन गरिनेछ ।

१२.    धितो मूल्यांकन गर्ने विधि:
(क)    घर, घडेरी, जग्गा: सरकारी मूल्य र चलनचल्तीको मूल्यका आधारमा धितोको मूल्य कायम गरिनेछ । संस्थाको मूल्यमा मार्जिन जग्गामा ३० % र घरमा ५० % कट्टी गरी धितोको रूपमा स्वीकार गर्न सकिने मूल्य कायम गरिनेछ । संस्थाले आवश्यकता अनुसार सम्बन्धित प्राविधिकबाट मूल्यांकन गराउन सक्नेछ ।
(ख)    घर:सामान्यतया घरको मूल्याङ्कन गरी ह«ास कट्टी समेत गरिनेछ । नयाँ घर निर्माण गर्न कर्जा लिनेको हकमा घरको जमिनमुनीको भाग ऋणीको लगानीमा निर्माण गरेको हुनुपर्नेछ ।

१३.    अचल धितोको सम्बन्धमा अन्य व्यवस्था:
क.    ऋण लिंदा निर्माणको लागि ऋण लिएको भएमा सो निर्माण भएको घर आदि सो समेत धितोमा उल्लेख गर्नु पर्नेछ । 
ख.       एकपल्ट धितो मूल्याङ्कन गरेपछि  प्राकृतिक प्रकोप परेमा बाहेक सामान्यतया कम्तिमा १ वर्षसम्म पुनः मूल्याङ्कन गरीने छैन । तर संस्थाले आवश्यक ठानेमा जुनसुकै बखत धितोको पुनर मूल्याङ्कन गर्न सक्नेछ ।
ग.    सुरक्षण वापतको अचल सम्पत्तिको धितो कानूनी रूपमा स्वीकार्न सकिने हुनु पर्नेछ ।
घ.    कर्जाको सुरक्षण वापत ऋणीले लेखी दिएको सम्पत्तिको स्थानीय संस्था र नेपाल सरकारमा बुझाउनु पर्ने मालपोत र अन्य बुझाउनु पर्ने रकम इत्यादी समयमा बुझाई सुरक्षित राख्नु पर्नेछ । कुनै कारणले संस्थाबाट तिरो÷मालपोत÷कर÷फिस दस्तुर आदि बुझाएमा संस्थाले बुझाएको रुपैयाँ ऋणीको खातामा खर्च लेखी नियमानुसारको व्याज लगाई असुल उपर गर्नेछ । 
ङ.    धितो लेखी दिएको सम्पत्ति ऋणीको जिम्मामा रहनेछ । उक्त सम्पत्ति कुनै किसिमबाट हानी नोक्सानी वा घटी बढी अथवा सुखा, जर्ति, मुसा, चोरी, लुट, चुहावट तथा दैवी प्रकोपमा परेमा संस्था जवाफदेही हुनेछैन ।
च.    सम्पत्तिको सुरक्षा गर्न वा हानी नोक्सानीबाट बचाउन संस्थाले चाहेमा आफ्नै जिम्मा नियन्त्रणमा लिई सुरक्षा गर्न र हानी नोक्सानीबाट बचौट गर्न सक्नेछ । यस अवस्थामा सो गर्दा लाग्ने खर्च र हर्जाना समेत ऋणीले तिर्नु बुझाउनु पर्नेछ । 

१४.    स्वीकृत कर्जा प्रदान गर्ने विधि:
क.    सुरक्षण वापत दिने धितो संस्थाको नाममा दृष्टि बन्धक पास भएको हुनुपर्ने र बीमा गर्नुपर्ने धितो भएमा अनिवार्य रूपमा बीमा गर्नु पर्नेछ ।
ख.    सेवा शुल्क वापत बुझाउनु पर्ने रकम पहिले नै बुझाउनु पर्नेछ ।
ग    निरिक्षण पश्चात प्रदान गर्नुपर्ने कर्जा भएमा निरिक्षण गरी सदुपयोगिता भएको भए मात्र प्रदान गर्नु पर्दछ ।
घ.    कर्जाको उद्देश्य अनुसार स्वीकृत कर्जाको किस्ता किस्ता गरी उपलब्ध गराउनु पर्दछ ।
ङ    कर्जाको दुरुपयोग भएको छ भन्ने लागेमा तत्काल नै भुक्तानी रोक्नु पर्दछ ।

 १५.    धितो सुरक्षण तथा वीमा:
 (क)    सुरक्षण वापत लिइने धितो संस्थाको नाममा, मूल्याङ्कन रकम उल्लेख गरी दृष्टि बन्धक पास गराई रोक्का समेत गराई लिनु पर्दछ ।
 (ख)    संस्थाले लिने धितो घर भएमा घरको मूल्य बराबरको रकम र मार्जिन कट्टी गर्नुभन्दा पहिले आवश्यक्ता अनूसार अग्नी र भूकम्प वीमा गराउन लगाउनु पर्दछ ।
 (ग)    हायर पर्चेज अन्तर्गत लगानी हुने यातायातको साधन वा अन्य वीमा गर्नुपर्ने आवश्यक कुनै पनि मेसिन औजारहरू भएमा सोको संस्थाको नाममा कम्प्रीहेन्शीभ वीमा गराउनु पर्दछ ।
(घ)    ऋणीले समयमा आवश्यकता अनुसार वीमा नगरेको खण्डमा संस्थाले वीमा गराई लाग्ने दस्तुर ऋणीको खातामा ऋण जनाउनु पर्दछ ।
(ङ)    अन्य कागजातपत्र सुरक्षणमा कर्जा प्रदान गर्नुपर्ने भएमा कागजातपत्रको पछाडि रितपूर्वकको दरपिठ गराई लिनु पर्दछ ।
(च)    रितपूर्वकको तमसुक गराई सम्बन्धित निकायबाट कागजपत्र संस्थाको नाममा रोक्का गर्न लगाई लिनु पर्दछ ।
(छ)    ऋणीलाई पटक पटक तमसुक गराउनु नपर्ने गरी स्वीकृति कर्जा रकमको एकमुष्ट तमसुक गराई लिनु पर्दछ ।
(ज)    ऋणी वाहेक अन्यले धितो दिने भएमा रितपूर्वकको मञ्जुरीनामा गराई लिनु पर्दछ ।
(झ)    जुन उद्देश्यका लागि धितो राखिएको हो, उक्त धितो कर्जा चुक्ता नभएसम्म  धितो परिवर्तन गर्न वा फुकुवा गर्न पाइने छैन ।
(ञ)    धितो पास गरेको जग्गा धितो कर्जा असुल नभएसम्म रोक्का राख्नुपर्छ । 

१६.    धितो रोक्का:
मालपोत कार्यालयलाई धितोमा लिइएको घर जग्गाको रोक्का गरी दिने बारेको धितो विवरण र मूल्याङ्कन अनुसारको पत्र लेखी मालपोत कार्यालयको प्रयोगको लागि राखिने प्रति समेत मालपोत कार्यालयमै पठाई ओ.सी. ऋणीको फाइलमा राख्नु पर्दछ । मालपोत कार्यालयबाट सो पत्रको जवाफ प्राप्त भएपछि उक्त पत्र चेक गरी प्रवृष्टि छुटेको भए पुनः पूरा गर्न पठाउनु पर्नेछ । मालपोत कार्यालयबाट सबै कुराको सकारात्मक जवाफ जस्तै मोही सम्बन्धी खिचोला वा अन्य कुनै झैं–झगडा नभएको कोहीबाट रोक्का नभएको र मालपोत कार्यालयबाट पत्रको मितिबाट रोक्का राखिएको आदि प्राप्त भएपछि मात्र ऋण प्रदान गर्ने कारवाहीतर्फ लाग्नु पर्दछ । अन्य धितो रोक्का गर्ने सन्दर्भमा पनि उपरोक्त अनुसार नै सम्बन्धित निकायमा पत्र लेखी रोक्का गरिएको जानकारी प्राप्त भएपछि मात्र कर्जा प्रवाह गर्ने कारवाहीतर्फ लाग्नु पर्नेछ ।

१७.    गुठी जग्गा सम्बन्धमा:
सामान्यतया गुठी जग्गाहरू धितो राखी ऋण दिईने छैन । तर खरीद बिक्री गर्न मिल्ने गुठी जग्गा भएमा सो को ३० प्रतीशतसम्म मात्र ऋण दिन सकीने छ ।

१८.    मञ्जुरीनामा गराउने:
उपरोक्त धितो सम्बन्धी सही जानकारी भएपछि धितो लिन मिल्ने ठहर भएमा धितोमा दिइएको सम्पत्ति ऋण माग गर्ने व्यक्तिको संभब भएसम्म एकाघरको अंशीयारको समेतको मञ्जुरीनामा गरी लिनु पर्दछ, सो मञ्जुरीनामा पनि तमसुक सरह पक्की नउड्ने कालो मसी छापले गराउनु पर्नेछ र किनारामा दुई (२) जना साँक्षीहरूको समेत दस्तखत सहीछाप भएको हुनुपर्नेछ । उक्त मञ्जुरीनामा तमसुक गराउनु अगावै गराई सक्नु पर्नेछ । ऋणीको रोहवरमा कागज गराउनु पर्नेछ ।

१९.    तमसुक गराउने:
उपरोक्त अनुसारको मञ्जुरीनामाको कागज गराई सकेपछि ऋणीसँग दिनुपर्ने सम्पूर्ण धितोको स्वामित्व सम्बन्धी कागज पत्र समेत लिई कागज पत्र सहित तमसुक जाँच्ने पदाधिकारी समक्ष पेश गरी तमसुक जँचाई दस्तखत गराउनु पर्नेछ ।

२०.    रकम प्रवाह गर्ने:
तमसुकसम्मको कार्यविधि सम्पन्न भै सकेपछि ऋणीलाई कर्जा उपलब्ध गराउनु पर्नेछ । कर्जा उपलब्ध गराउँदा एक पटक वा किस्तावन्दी रूपमा नगदमा वा जिन्सीमा व्यवसायको प्रकृती हेरी कर्जा प्रवाह गरिनेछ । जिन्सीमा कर्जा उपलब्ध गराउँदा ऋणीले व्यहोर्नु पर्ने रकम संस्थामा जम्मा गर्न लगाउने र संस्थाले प्रवाह गर्ने रकम मिलाएर चेक बनाई सम्बन्धित पक्षलाई भुक्तानी दिइनेछ ।

२१.    कर्जा सीमा:
(क)    कर्जाको सीमा तोके बमोजिम हुनेछ ।
(ख)    परियोजनासँग आवद्ध कर्जामा संस्थाले अधिकतम ६० % सम्म लगानी गर्न सक्नेछ । कूल कर्जा लागतको ४०% उद्यमी र समुहले व्यहोर्नु पर्नेछ ।

२२.    किस्ता रकम प्रवाह:
स्वीकृत कर्जा किस्ताबन्दी रूपमा प्रवाह गर्ने गरी स्वीकृत भएको खण्डमा किस्ताबन्दी रूपमा ऋण उपलब्ध गराइने छ । पहिलो कर्जा किस्ताको सदुपयोग भएको निरिक्षणबाट देखिएमा मात्र दोस्रो कर्जा किस्ता उपलब्ध गराइनेछ । ऋणीले किस्ता माग निवेदन नमूना अनुसार पेश गरेपछि सोको निरिक्षण गरी टिप्पणी तथा आदेशमा उल्लेख भए अनुसार कर्जा किस्ता प्रदान गरिनेछ । कर्जा प्रवाह गर्दा रितपूर्वकको प्रमीसरी नोट भराई बील, भौचरहरू नत्थी गरी तमसुकमा दस्तखत गराई सम्बन्धित ऋणीको फाइलमा सुरक्षित साथ राखिनेछ ।

२३.    ऋणीलाई कर्जा भुक्तानी तालिका उपलब्ध गराउने:
ऋणीलाई कर्जा भुक्तानी तालिका उपलब्ध गराइने छ । ऋणीले चुक्ता गर्नुपर्ने साँवा र तोकिए बमोजिम बुझाउनु पर्ने व्याज रकम उल्लेख गरी ऋणीलाई दिइनेछ ।

२४.    ऋण सदुपयोगिता गर्नको लागि ताकेता पत्र:
ऋण सदुपयोगिताको निरिक्षण गर्दा ऋण रकम तोकेको कार्यमा खर्च नगरेको पाइएमा वा आंशिक मात्र खर्च गरेको पाइएमा ढाँचा अनुसार प्रदान गरिएको ऋण तोकिएको उद्देश्यमा खर्च गर्नको लागि ताकेता पत्र पठाउनु पर्नेछ । यसरी ताकेता गर्दा पनि रकमको सदुपयोग नभएमा भुक्तानी भएको सम्पूर्ण कर्जाको असुली गराउने तर्फ लाग्नु पर्नेछ ।

२५.    दुरूपयोग र भाखा नाघेको कर्जाको सम्बन्धमा:
दुरूपयोग र भाखा नाघेको कर्जाहरूको असुली गर्नेतर्फ संस्था सदैव क्रियाशील रहनेछ । कर्जा सदुपयोग गर्न पत्राचार गर्दा पनि सदुपयोग नगर्ने र भाखा नाघेको कर्जालाई ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेमा नियमानुसार धितो लेखी दिएको चल÷अचल सम्पत्ति लिलाम विक्री गरी कर्जा असुल उपर गरिनेछ । लिलाम गर्दा कसैले सकार नगरेमा संस्था आफैंले आफ्नो नाउँमा सकार गराई लिन सक्नेछ ।

२६.    भाखा नाघेको कर्जा:
(क)    तोकिएको किस्ताबन्दी भाखा तथा अन्तिम भाखामा ऋण नबुझाउने ऋणी सदस्यलाई ब्याज र अतिरिक्त थप हर्जाना लगाइनेछ ।
(ख)    प्रत्येक किस्ताको ठीक एक महिना अगाडि साँवा किस्ता तथा व्याज बुझाउने सदश्यहरूलाई बुझाएको व्याज रकममा व्यवस्थापनले अवस्था हेरी बढीमा १% सम्म छुट दिन सक्नेछ । 

२७.     ऋण नोक्सानी कोषको व्यवस्था
संस्थाबाट प्रदान गरिएको ऋणलाई तपसिल बमोजिम चार वर्गमा विभाजन गरी ऋण नोक्सानी कोषको व्यवस्था गर्ने छ ।



 
क्र.सं.       ऋणको वर्गीकरण भाखा नाघेको अवधि    ऋण नोक्सानी कोषको व्यवस्था
असल ऋण     भाखा ननाघेको    १ प्रतिशत
कमसल ऋण     ६ महिनासम्म भाखा नाघेको   २५ प्रतिशत
  शंकास्पद ऋण   ६ महिना देखि बढीमा १ वर्षसम्म भाखा नाघेको ५० प्रतिशत
४. खराव ऋण १ वर्षभन्दा बढी भाखा नाघेको    १०० प्रतिशत
 
             
२८.    नविकरण र म्याद थप:
(क)    संस्थाले लगानी गरेको कर्जामा ऋणीले पटक पटक साँवा व्याज बुझाएको खण्डमा छोटो अवधी राखी एक पटक नविकरण गर्न सकिनेछ ।
(ख)    अन्य कर्जाहरूमा ऋणीले उचित कारण सहित म्याद थपका लागि निवेदन दिएमा निरिक्षण गरी उचित देखिएमा छोटो अवधी राखी भुक्तानी म्याद संशोधन गर्न सक्नेछ ।

२९.     धितो निरीक्षण शुल्क:
(क)     संस्थाबाट सदस्यलाई ऋण प्रदान गर्दा सदस्यको अचल जायजेथा धितो निरीक्षण तथा मूल्यांकनका लागि लगानी गर्ने ऋण रकमको १ प्रतिशत रकम धितो निरीक्षण शुल्क लिइने छ ।
(ख)     धितो निरीक्षण शुल्क ऋणीले संस्थामा बुझाई रसिद लिनु पर्नेछ ।
(ग)     ऋणी सदस्यले कर्जा निवेदन फाराम, धितो मूल्यांकन फाराम, तमसुक, पासबुक तथा अन्य कागजात बापत एकमुष्ट रु.५००/– मसलन्द खर्च संस्थामा बुझाई रसिद पेस गर्नु पर्नेछ । 
   

परिच्छेद–४

विविध
३०.    व्याख्या गर्ने अधिकार:
यस नीतिमा उल्लेखित कुराहरू एक अर्कासित बाझिन गएमा सो को व्याख्या गर्ने अधिकार संचालक समितिमा निहित रहनेछ ।

३१.    नियम अनुसार भएको मानिने:
यो नीति लागु हुन अघि भए गरिएको सम्पूर्ण बचत सङ्कलन तथा कर्जा लगानी सम्बन्धी कारवाही तथा निर्णय यसै नीति अनुसार भए गरिएका मानिने छन् ।

३२.    संशोधन:
यस नीतिमा भएका बुँदाहरू थपघट गर्नु परेमा वा संशोधन गर्नु परेमा समितिको सिफारिसमा साधारण सभाबाट संशोधन वा थपघट गर्न सकिनेछ ।

समाप्त

Contact


Karmatara Organization
Koteshwor-32, Kathmandu
Ph: 01-4612268
Email: karmatarasaccos@hotmail.com

Testimonials

Find Us on Facebook